Friday 19 July 2019

प्रलेसको कार्यदिशाबारे त्रिपन्नौँ परिसंवाद सम्पन्न

काठमाडौँ । “प्रलेसको वर्तमान अवस्था र आगामी कार्यदिशा” विषयमा प्रगतिशील लेखक सङ्घले त्रिपन्नौँ परिसंवाद सम्पन्न गरेको छ ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले प्रगतिशील मान्यता वामपन्थीहरूले मात्रै आत्मसात गर्न सक्ने भएकाले प्रलेस जस्तो संस्थाको आवश्यकता अहिले पनि यथावत् रहेको बताउनुभयो ।
‘प्रलेसले काम गर्न सकेन भनेर गनगन गर्न आवश्यक छैन’ उहाँले भन्नुभयो– ‘आफूले चाहे जति गर्नका लागि प्रत्येक पार्टीका आआफ्नै साहित्यिक सङ्गठन छन् । तिनै सङ्गठनमार्फत गरे हुन्छ ।’
उहाँले सबै प्रगतिशील साहित्यकारहरूले साझा काम गर्नका लागि प्रलेसको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।
जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले नेपालमा वामपन्थीहरू विभाजित भएकाले उनीहरू सम्बद्ध साहित्यकारलाई समेट्न प्रलेसलाई चुनौती रहेको बताउनुभयो ।
‘बेग्लाबेग्लै पार्टीबाट आएकाले उनीहरूलाई संयोजन गर्न गारो छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि प्रलेस सामन्तवाद, साम्राज्यवाद विरोधी मोर्चाको रूपमा अस्तित्वमा रहनु सकारात्मक परिघटना हो ।’
उहाँले प्रलेसले कुनै पार्टीविशेषको भन्दा पनि प्रगतिशील साहित्यका साझा समस्याबारे छलफल गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) का अध्यक्ष डा. पुष्करराज भट्टले कोरोना महामारीका बाबजुद एघारौँ राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समितिले उल्लेखनीय काम गरेको बताउनुभयो ।
‘परिसंवाद शृङखलाकाको निरन्तरता, स्रष्टा सम्मान, अभिनन्दन ग्रन्थ प्रकाशन, इतिहास लेखनका तथा समसामयिक राजनीतिक, सामाजिक र साहित्यिक मामिलामा प्रलेसले काम गरेको छ’ उहाँको भनाइ थियो ।
डा. भट्टले आगामी दिनमा विचार र आन्दोलनलाई सृजनात्मक लेखनको क्षेत्रसित जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदीले सबै प्रगतिशील लेखकहरूलाई एउटै थलोमा समेट्नु चुनौतीको विषय भएको बताउनुभयो ।
‘राजनीतिक पार्टीहरू मिल्न नसके पनि प्रगतिशील साहित्यकारहरू मिल्नुपर्दछ’ डा. सुवेदीले भन्नुभयो– ‘पार्टीगत सङ्गठनका सीमा होलान्, तर प्रलेसले समग्र प्रगतिशील साहित्यको उन्नयनका लागि काम गर्नुपर्छ ।’
उहाँले वामपन्थी आन्दोलनमा प्रगतिशील लेखनको भूमिका बढाएर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रगतिशील साहित्य तथा कला समाज नेपालका अध्यक्ष शालिकराम तिमिल्सिनाले प्रलेसको सङ्गठनात्मक अवस्था र लेखनको स्तर चित्तबुझ्दो नभएको बताउँदै त्यसको पक्षमा योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताउनुभयो ।
‘युवाहरूलाई समेट्ने समस्या छ, दृष्टिकोणको पनि समस्या छ’ उहाँले भन्नुभयो– ‘स्वीकारोक्तिमा सामन्तवाद, साम्राज्यवाद विरोधी भनिए पनि किटानीपूर्वक उभिनमा समस्या छ ।’
उहाँले यथार्थवादी साहित्यको उत्पादन र पुनरुत्पादनमा नवलेखकहरूलाई प्रलेसले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा फ्लोरबाट यादव अधिकारीले पूरक जिज्ञासा राख्नुभएको थियो ।